हो, म कुकुर हुँ। तपाईंले मलाई धेरै पटक देख्नुभएको छ। कहिले सडकको किनारमा, कहिले पसलको सिँढीमुनि, त कहिले चिसो भुइँमा गुटुमुटु परेर निदाइरहेको। तपाईं हतारमा अगाडि बढ्नुहुन्छ, म भने तपाईंलाई चुपचाप हेरिरहन्छु। कहिलेकाहीँ हाम्रो आँखा जुध्छ। त्यसपछि तपाईं अनुहार बटार्नुहुन्छ, नाक खुम्च्याउनुहुन्छ, अनि केही नभएझैँ आफ्नो बाटो लाग्नुहुन्छ। हो, म त्यही सडकको कुकुर हुँ, जसलाई तपाईं हरेक दिन देख्नुहुन्छ, तर कहिल्यै वास्तवमै हेर्नुहुन्न।
मेरो जन्म कुनै न्यानो घरमा भएको थिएन। मेरी आमाले एउटा पुरानो पर्खालको चिरा र फोहोरको थुप्रोको छेउमा हामी पाँच सन्तानलाई जन्म दिएकी थिइन्। त्यही ठाउँ हाम्रो संसार थियो। आमा आफैँ दिनौँसम्म भोकै बस्थिन्, तर हामीलाई दूध चुसाउन कहिल्यै चुकिनन्। राति टाढाबाट गाडीको आवाज आउँथ्यो, सडकका बत्तीहरू झिलिमिली बल्थे, अनि वरिपरि अपरिचित कुकुरहरूको भुकाइ सुनिन्थ्यो। ती सबै आवाजबीच आमाले आफ्नो शरीरले हामीलाई छोपेर राख्थिन्। आज बुझ्छु, त्यो मेरो जीवनको सबैभन्दा सुरक्षित समय रहेछ।
समय धेरै बितेन। जन्मेको केही दिनमै मेरा दुई भाइ हराए। एकजनाले चिसो सहन सकेन, अर्को कहाँ गयो, कसैलाई थाहा भएन। बाँकी हामी तीन जनाले बाँच्न सिक्नुपर्यो। अनि बिस्तारै मैले बुझ्न थालेँ, सडकमा बाँच्नु भनेको जीवन जिउनु मात्र होइन, हरेक बिहान मृत्युलाई छल्दै फेरि अर्को दिनको प्रतीक्षा गर्नु रहेछ।
तपाईंलाई सायद थाहा नहुन सक्छ, तर म जस्तो प्राणी र तपाईंको सम्बन्ध आजको होइन। हजारौँ वर्षअघि, जब तपाईंका पुर्खाहरू गुफामा बस्थे, आगो बाल्न सिक्दै थिए, त्यतिबेलादेखि मेरा पुर्खाहरू उनीहरूको छेउमै थिए। तपाईं सिकारमा निस्कँदा हामी साथ लाग्थ्यौँ। राति तपाईं निदाउँदा हामी पहरा बस्थ्यौँ। तपाईंको खुसीमा पुच्छर हल्लाउने र तपाईंको दुःखमा चुपचाप खुट्टामा टाउको राखेर बस्ने हामी नै थियौँ। हामीले कहिल्यै ठूलो घर मागेनौँ, न स्वादिलो खाना, न पैसा। हामीलाई त एउटा टुक्रा रोटी, एउटा न्यानो हेराइ र अलिकति माया नै पर्याप्त थियो।
मेरो हरेक दिन लगभग एउटै हुन्छ। बिहान सबेरै उठ्नुपर्छ, किनभने सडकमा निदाउनु भनेको आराम गर्नु होइन। हिउँदमा चिसोले हाड काँप्छ, वर्षामा भिज्दै रात बित्छ, गर्मीमा तातो सडकले पैतालासमेत पोल्छ। त्यसपछि सुरु हुन्छ खानाको खोजी। होटलको पछाडि फालिएको झुटो, प्लास्टिकभित्र कुहिएको भात, कसैले आधा खाएर फालेको रोटी, यही नै मेरो भोजन हो। भोकले कहिल्यै इज्जत खोज्दैन। बाँच्नुपर्छ भने जे भेट्यो त्यही खानुपर्छ।
तर भोकभन्दा पनि ठूलो डर छ। त्यो हो सडकमा दौडिने तीव्र गाडीहरू। बाटो काट्ने हरेक पल मेरो लागि जुवा खेल्नुसरह हुन्छ। मैले आफ्नै आँखाले कैयौँ साथीहरूलाई ती काला सडकमा सधैँका लागि अस्ताएको देखेको छु। तर त्यसभन्दा पनि धेरै डर मलाई मान्छेसँग लाग्छ। विडम्बना यही हो, जसलाई मैले सबैभन्दा धेरै विश्वास गर्न खोजेँ, आज त्यही प्राणीबाट म सबैभन्दा धेरै डराउँछु।
मलाई थाहा छ, म सफा देखिँदिनँ। मसँग नुहाउने ठाउँ छैन। कसैले मेरो घाउ सफा गरिदिँदैन। मेरो शरीरमा धुलो छ, घाउ छन्, गन्ध छ। तर के फोहोर देखिएकै कारण म लात र ढुंगाको हकदार हुन्छु? एक दिन म एउटा पसलको अगाडि घाम ताप्दै थिएँ। मैले कसैलाई केही गरेको थिइनँ। तर अचानक एकजना मानिस आए र मेरो करङमा यति जोडले लात हाने कि म पीडाले चिच्याउँदै भागेँ। केटाकेटीहरू रमाइलोका लागि ढुंगा हान्छन्। कसैले तातो पानी खन्याइदिन्छ। अनि म केही बोल्न सक्दिनँ। किनकि म सडकको कुकुर हुँ। मलाई कुट्दा कसैले प्रश्न गर्दैन। कसैले न्याय खोज्दैन।
अचम्म त के छ भने मैले कहिल्यै कसैलाई पहिले टोकेको छैन। म त डर लागेपछि भुक्छु, खतरा महसुस भएपछि भाग्छु। तर संसारले मलाई नै खतरनाक भन्छ।
हरेक बिहान म एउटा ठूलो घरको गेटअगाडिबाट हिँड्छु। त्यहाँ पनि एउटा कुकुर बस्छ। ऊ पनि मजस्तै चार खुट्टे हो, उसले पनि पुच्छर हल्लाउँछ, ऊ पनि भोकाउँछ। तर हाम्रो जीवन आकाश जमिनको फरक छ। उसको रौँ सफा र चम्किलो छ। गलामा सुन्दर पट्टा छ। उसलाई समयमा खाना मिल्छ, बिरामी पर्दा अस्पताल लगिन्छ, परिवारले अंगालो हाल्छ, फोटो खिच्छ, “कति क्युट” भन्छ। मलाई भने कसैले आजसम्म नामसमेत दिएको छैन। उसलाई पैसाले किनिएको थियो, मलाई कसैले रोजेन। तर हाम्रो मुटु त उस्तै हो। हामी दुवैलाई माया चाहिन्छ। दुवैलाई कसैको साथ चाहिन्छ। फरक यति मात्र हो, उसको मूल्य पैसाले तोकियो, मेरो अस्तित्व सडकले।
म उससँग कहिल्यै ईर्ष्या गर्दिनँ। बरु उसलाई हेर्दा सोचिरहन्छु, मलाई पनि कसैले एकपटक त्यस्तै नजरले हेरेको भए, एकछिन मात्रै भए पनि मायाले टाउको सुम्सुम्याएको भए, सायद मेरो संसार पनि यति कठोर हुने थिएन।
एउटा रात, मेरो सबैभन्दा मिल्ने साथी, जससँग म दिनभर खेल्थेँ, खाना बाँड्थेँ, त्यो रात बाटो काट्दै थियो। अचानक एउटा गाडी तीव्र गतिमा आयो। एक सेकेन्डमै सबै सकियो। गाडी रोकिएन। मान्छेहरू हेर्दै अगाडि बढे। कोही फर्किएन। म भने रातभर उसको छेउमा बसेँ। उसको शरीर बिस्तारै चिसो हुँदै गयो। बिहान सूर्य उदायो, तर मेरो साथी उठेन। त्यसपछि म एक्लै भएँ।
यस्ता मृत्यु हाम्रो लागि सामान्यजस्तै भइसकेका छन्। सडकमा हाम्रो रगत बग्छ, तर कसैले गन्दैन। बिहान सफाइ गर्ने गाडी आउँछ, हामीलाई फोहोरसरह उठाएर लैजान्छ। हाम्रो जीवनको मूल्य त्यति मात्रै रहेछ।
तर वर्षमा दुई दिन भने सबै बदलिन्छ। एउटा दिन आउँछ: कुकुर तिहार, जब मलाई फूलको माला लगाइन्छ, निधारमा टीका लगाइन्छ, मिठो खाना खुवाइन्छ। मानिसहरूले भन्छन्, “कुकुर भगवान् भैरवको दूत हो”, “कुकुर वफादारीको प्रतीक हो।” त्यो दिन मैले क्षेणिक सम्मान पाउँछु, फोटो खिचिन्छ, माया गरिन्छ। अनि केही समयपछि अर्को दिन आउँछ, विश्व रेबिज दिवस। त्यस दिन नगरपालिकाका कर्मचारी आउँछन्, हामीलाई रेबिजविरुद्धको खोप लगाइदिन्छन्। किनभने उनीहरूलाई थाहा छ, रेबिज नियन्त्रण गर्न हामीलाई सुरक्षित राख्नु पनि आवश्यक छ।
तर यी दुई दिन बित्नासाथ फेरि सबै पुरानै हुन्छ। बाँकी दिनहरूमा हामी फेरि उही फोहोर, उही बोझ, उही घृणाको पात्र बन्छौँ। कतिपय ठाउँमा त संख्या घटाउने नाममा विषसमेत खुवाइन्छ। कुकुर तिहारमा माला लगाउने हात र अर्को दिन ढुंगा उठाउने हात प्रायः उही हुन्छ। त्यो सम्झँदा मन दुख्छ। दुई दिन बचाउन खोज्ने हातले अर्को दिन मार्न खोज्नु कति ठूलो विडम्बना हो नि है?
तर सबै मान्छे यस्ता छैनन्। आज पनि केही अनुहार सम्झिँदा मेरो पुच्छर आफैँ हल्लिन्छ। एउटी आमाले हरेक बिहान मलाई भात दिनुहुन्छ। एउटा सानो बालक स्कुल जाँदा मेरो टाउको सुम्सुम्याउँछ। कतिपय अपरिचित मानिसहरू घाइते कुकुर देखेपछि आफ्नै गाडीमा राखेर उपचार गराउन लैजान्छन्। यस्तै केही संस्था छन्, जसले हामीलाई बोझ होइन, जीवन ठान्छन्। घाइते कुकुरको उद्धार गर्ने, उपचार गर्ने, बन्ध्याकरण र खोप लगाउने उनीहरूकै कारण आज हामीमध्ये धेरै अझै बाँचिरहेका छौँ। उनीहरूले मलाई एउटा कुरा सिकाए, संसारमा सबैभन्दा ठूलो शक्ति अझै पनि माया नै रहेछ।
म तपाईंसँग धेरै कुरा माग्दिनँ। मलाई घरभित्र राख्नुपर्दैन। महँगो खाना पनि चाहिँदैन। म त यति मात्र चाहन्छु, तपाईं मेरो छेउबाट हिँड्दा ढुंगा नउठाइदिनुहोस्, बिन्ती! लात नहानिदिनुहोस्। मलाई देखेर डराउनु पर्दैन नि। म तपाईंको शत्रु होइन। म पनि तपाईंझैँ बाँच्न खोजिरहेको एउटा जीवन मात्र हुँ।
र यदि तपाईंले साँच्चै केही गर्न चाहनुहुन्छ भने, एउटा कुरा सम्झनुहोस्। सडकका कुकुरलाई मारेर समस्या कहिल्यै समाधान हुँदैन। यो संसारका धेरै देशहरूले प्रमाणित गरिसकेका छन्। समाधान भनेको बन्ध्याकरण, नियमित खोप, जिम्मेवार व्यवस्थापन र सहअस्तित्व हो। यही उपायले रेबिज पनि नियन्त्रण हुन्छ, कुकुरको संख्या पनि सन्तुलनमा आउँछ, र मानिस पनि सुरक्षित रहन्छ।
यदि तपाईं घरमा कुकुर पाल्ने सोच्दै हुनुहुन्छ भने, महँगो “ब्रिड” किन्नेभन्दा एकपटक सडकको एउटा बच्चालाई अपनाएर हेर्नुहोस्। उसले तपाईंलाई जीवनभर सम्झनेछ। आफ्नो गल्लीको एउटा कुकुरलाई दिनको एक छाक खाना दिनुहोस्। एउटा नाम दिनुहोस्। सायद तपाईंको लागि त्यो सामान्य कुरा होला, तर त्यो उसको सम्पूर्ण संसार बन्न सक्छ। आफ्ना बालबालिकालाई सिकाउनुहोस् न, ढुंगा हान्नु साहस होइन, दया देखाउनु नै साँचो मानवता हो।
आज पनि म त्यही सडकको किनारमा छु। चिसो अझै उस्तै छ। भोक अझै उस्तै छ। अगाडि दौडिरहेका गाडीहरू पनि उस्तै छन्। तर तपाईं मेरो छेउबाट हिँड्दा म अझै पनि पुच्छर हल्लाउँछु। किनभने हजारौँ वर्षअघि मैले मान्छेमाथि विश्वास गर्न सिकेको थिएँ, र आजसम्म त्यो विश्वास मर्न दिएको छैन।
त्यसैले, अर्को पटक तपाईंले मलाई सडकमा देख्नुभयो भने, हतार नगर्नुहोस्। एकछिन रोकिएर मलाई हेर्नुहोस्। ढुंगा उठाउनुको सट्टा एउटा न्यानो नजर दिनुहोस्। किनभने म पनि बाँच्न चाहन्छु। म पनि माया खोज्छु। म पनि पीडा महसुस गर्छु। र हो, म कुकुर हुँ। तर त्योभन्दा पहिले, म पनि एउटा धड्किरहेको मुटु बोकेको जीव हुँ।


