विहे गर्न सक्दिन, Sorry!

Bikal
By
Bikal
A passionate storyteller, digital creator, and researcher dedicated to uncovering fascinating stories, mysteries, history, science, technology, and contemporary issues. As the driving force behind Sangriha, he...

राजन (नाम परिवर्तित) सँग मेरो भेट एसईई सकिएपछि भएको हो । मेरो सपना थियो संचारकर्मी बन्ने अनि राजनको व्यवसायी । हामि दुबै पढाईमा अब्बल थियौँ । परिवारले मेरो निर्णय स्विकारेन । गाउँमा अङ्ग्रेजी विषयका शिक्षकको खडेरी थियो । राम्रो स्कोप छ भन्दै गाउँकै विद्यालयमा अङ्ग्रेजी विषय लिएर पढ्न परिवारको दबाव आयो । इच्छा नहुँदा नहुँदै मैले अङ्ग्रेजी लिए राजनले कमर्स । म कक्षा ११ मा पढ्दा पढ्दै सपना पुरा गर्न रेडियोमा होमिए । परिवारसँग सम्बन्ध खराब नै भयो । जसो तसो सम्झाए । अहिले सब ठिक ठाक छ । तर, यहाँ म मेरो होइन राजनको कुरा लेख्दै छुँ ।

म संचारकर्ममा बामे सर्दै गर्दा संघर्षमा बाल्यकाल बिताएको राजन मलाई समेत सुईको नदिई घर व्यवस्था मिलाउन मुग्लान पस्यो । वाध्यता र बिग्रदो घरायसी परिस्थितिले सानै उमेरमा उसलाई पाको बनाइसकेको थियो । तीन वर्ष मुग्लानमा पसिना बगायो । हामी नियमित सम्पर्कमै थियौं ।
 
उ एक्कासी बिरामी पर्यो ।  हेरचाह र रेखदेख गर्ने कोही भएनन् । उसलाई सात समुद्रपारी आएकोमा ग्लानी भयो । जतासुकै अँध्यारो देख्यो  यो मरूभूमिमा कोही नभएजस्तो अनुभव गर्यो र एउटा कठोर निर्णय लियो, नेपाल फर्किने ।

ऊ नेपाल फर्केको पनि आज तीन वर्ष पुगिसकेछ । विदेशबाट फर्केपछिको पहिलो भेट हो यो उसँगको । आजको दिन हामीसँगै बिताउँदै छौं ।

बानेश्वर छेउको एक क्याफेमा कफीको चुस्कीसँगै हामी गफिएका छौं । उसले आफ्नो विगत सुनाउँदै छ म कफीको गुलियोमा उसको तीतो विगत सुन्दैछु ।

Ad imageAd image

‘नेपाल फर्केपछि के गर्ने झन् अन्योलको वातावरण बन्यो यार नरेश’, उसले आफ्नो कहानी सुनाउन सुरू गर्याे ।
घरको ऋण तिरिसकेको हुनाले अलि सहज भने भएको थियो । त्यस कारणले पनि होला नेपाल फर्केको केही महिनामा मैले फेरि पढ्ने चाहनालाई अगाडि बढाउने अठोट गरेँ ।

बिहानी सत्रमा पढाइ र दिउँसोमा सामान्य खर्च टार्न जागिर फेरि नेपालमा दैनिकी सुरू भयो ।
बुढी भएकी आमालाई औषधी र सहरमा बसेर पढ्न जेनतेन पुगेको नै थियो तर अचानक हृदयघातको कारण आमा समेत गुमाउनु पर्यो ।

खै भगवान पनि छन् भनौं या छैनन् । जसलाई दुःखको पहाड छ, उसैलाई फेरि दुःख दिने यो भगवानको नियति पनि अनौठो छ । ’मसँग आफ्नो भाग्यलाई स्वीकार्नुबाहेक अरू केही विकल्प बाँकी रहेन यार नरेश’,  उसले आँसु खसाल्न  सुरू गरिसकेको थियो ।

‘आफ्नो आफन्त कोही नहुनु र आफूमाथि परेका बज्रपातले म कयौं रात एकान्तमा रोएँ । आफ्नो रोदन सुनिदिने कोही मान्छे भेटिनँ । मान्छे यतिसम्म स्वार्थी हुँदा रहेछन् नजिकबाट नियाल्ने अवसर पाएँ ।’ 

ऊ मलिन मुद्रामा दुखेसो गर्दै गयो म सुन्दै गएँ ।  

‘म पूरै एक्लो भएँ । घर परिवारको सदस्यमा म मात्र बाँकी रहेँ । छरछिमेक बलेको आगो ताप्ने रहेछन् । म त सेलाइसकेको खरानीजस्तो भएको थिए, तर समय आएपछि सबै ठीक हुन्छ भन्ने कुरामा म विश्वस्त थिएँ । जिन्दगी त हजारौं माइलको यात्रा हो जिन्दगीको एउटा पाटोमा दुई चार माइल अगाडि वा पछाडि हुँदैमा आत्तिनु र मात्तिनु हुँदैन भन्ने कुरा मलाई राम्रोसँग थाहा थियो । सबै कुरा मनमै राखी सुरू भयो उही पुरानौ दैनिकी….। 

बिहान कलेज अनि दिउँसो जागिर । पढाईमा म औषतभन्दा केही राम्रो थिएँ । न घर छ, न परिवार छ, न सहयोगी आफन्त छन् । मनमा पिरको चाङ छ तर मलाई बाहिरबाट चिन्नेहरूले सामान्य जस्तै ठान्थे । मनमा दुःख र मुखमा सुखै सुख थियो ।’ 

म सुनिरहेको थिएँ ।  ऊ भन्दै गयो ’मेरा यस्तै बानी र बाहिरी आवरण हेरेर होला मसँग एक जना  केटी साथी नजिकिएकी थिई । पातली, अग्ली, गहुँ गोरी, मिलेका दाँत कस्ती राम्री । जिन्दगीमा राम्रा चिजहरू जिन्दगी मिलाउन हैन भुलाउन आउँछन् मलाई राम्रोसँग थाहा थियो तर खै किन म उसँग  नजिकिन थालेको  थिएँ ।’ 

‘हामी फोन म्यासेजमा बोल्न थालेका थियौं । कलेज जाँदासँगै फर्कदा सँगै । कति मीठा कुरा! उसको बालापनको राग अझै सकिएको थिएन । ऊ केटाकेटीजस्ती! तर कति मीठो माया गर्न जानेकी के । म जिन्दगीका कुरा गर्दा ऊ सुन्छे । अनि उसले आफ्ना कुरा सुनाउन तम्सिन्छे । साँच्चै भगवानले मेरो दुःखमा मलम लगाउन पठाएकी मान्छे । म कल्पना गर्थें भगवानले मेरा परीक्षा लिए होलान्, अनि  म पास भएँ होला अनि उपहार स्वरूप उसलाई मसँग भेट गराए होलान् ।

आजकल दिन छोटा, रात छोटा, बाटाहरू  पनि छोटा ।  लामो के नै छ र? हामी हिँड्दा हिँड्दै कहिले साँगा, कहिले नगरकोट त कहिले थानकोट नै पनि पुग्थ्यौं ।

बिस्तारै किस्ता किस्तामा मैले जिन्दगीका किस्साहरू सुनाउन थालें । उसलाई सुरूमै अप्ठ्यारो नहोस् भनेर साना मसिना कुरा सुनाएँ । ऊ अझै  नजिक भई अझै माया गर्न थालेकी थिई । वाह जिन्दगी! मैले सबै कुरा बिर्सेर उसलाई जिन्दगीमा सजाइसकेको थिएँ ।

मात्र ऊ छे मेरो जिन्दगीमा अरू कोही छैन जस्तो लाग्न थालिसकेको थियो । तर मेरा पूरै कथाहरू सुनेपछि, उसले के सोची खै ऊ केही टाढा हुन खोजे जस्तो गरी । मैले निकै सम्झाउन खोजें तर सम्झाउन सकिनँ ।

केही समयपछि कलेजको भेटमा उसले भनी ’अरू सबै कुरामा म हजुरलाई सहयोग गर्न तयार छु तर विवाह गर्न सक्दिनँ । Sorry!’
यति भनेपछि ऊ पछाडि फर्केर गई । भगवानसँग मागेका केही कुरा पूरा नभएपछि मैले उसलाई भगवानसँग मागेको थिइनँ तर यो पनि पूरा भएन ।

डाँडाको मेलपोखरीको चौतारामा गएर टोलाएँ अनि मज्जाले रोएँ । सबै कुरा गुमाउँदै गएको मान्छेले फेरि एउटा कुरा बढी गुमाएँ ।

भावीले लेखेको लेखा नभोगी कहाँ सुख रैछ र! घन्टौं सोचेपछि एउटा निचोड निकालें मैले सहन सक्नु पर्छ । सहन सक्नेहरूले नै संसार जितेका छन् ।

त्यही दिन बेलुका  जब  घरमा गएर उसको टिकटक एकाउन्ट खोलें उसले रमाउँदै टिकटक बनाएकी रहिछ । 
ती टिकटक मैले पनि हेरेँ र रमाएँ । उसलाई म गुमाउनुको कुनै पीडा नभएको र खुसी भएको प्रष्ट देख्न सकिन्थ्यो ।

अनि मैले सोचें उसको खुसीको लागि जे गर्न पनि तयार छु भनेको हैन? मैले आफ्नै मनलाई प्रश्न सोधें । अनि ऊ खुसी छँदा किन डाहा गर्छस् तँ? ऊ जहाँ भए पनि, उसको खुसीमा तँ पनि खुसी भएस्! मैले आफ्नै मनलाई सम्झाएँ । त्यो रात छटपटीमै बित्यो । निदाउनै सकिनँ । भने जस्तो कहाँ  पो  हुन्छ र? 

केही दिन पिडाको भारीले पूरै थिच्यो । केही समयपछि निकै कोसिस गरेर एकोहोरो पागल प्रेमबाट केही छुटकारा लिएँ । उसले केही समयमा बिहे गरी, म भने फेरि केही गर्छु भनेर पढ्न कस्सिएँ । मैले धेरैलाई देखाउन पर्छ । म केही गर्नै पर्छ  भनेर कम्मर कसें । 

अहिले एउटा प्राइभेट बैङ्कमा म्यानेजर भएको छु हेरौ यार जिन्दगीले अझै कति पीडा दिने रहेछ’ 

ऊ फेरि रोयो ऊ रोएको देख्दा म पनि भावुक भएँ । उसँगै म पनि रोएँ, हामीसँगै रुन थाल्यौं । घन्टौं रोएपछि उठेर हिँड्दा त रात परिसकेछ । अनि हामि फेरी भेट्ने वाचा गर्दै छुट्टियौँ ।❤️

✍️नरेश कुमार जोशी

Follow:
A passionate storyteller, digital creator, and researcher dedicated to uncovering fascinating stories, mysteries, history, science, technology, and contemporary issues. As the driving force behind Sangriha, he focuses on delivering well-researched, engaging, and thought-provoking content that informs, inspires, and sparks curiosity among readers. Through creative writing and in-depth exploration, he strives to bring untold stories and unique perspectives to a wider audience.