ममता काफ्ले: स्तब्ध पार्ने बेपत्ता प्रकरण

BikalBishal
By
Bikal
Crafting stories that make you think, poems that make you feel, and tech articles that make the complex beautifully simple. The mind behind Sangriha.
Bishal
Equal parts curious and relentless. Digging where others don't, uncovering the tech behind tomorrow and the mysteries hiding in plain sight.

२०८१ साउन १५ गते।

अमेरिकाको भर्जिनिया राज्यस्थित म्यानास्सास पार्कको एउटा साधारण घरभित्र बिहानको व्यस्तता चलिरहेको थियो। २८ वर्षीया ममता काफ्ले भट्ट आफ्नो नियमित काममा जानुअघि एक वर्षीया छोरी नीमाको हेरचाह मिलाउँदै थिइन्। UVA Health Prince William Medical Center मा नर्सका रूपमा कार्यरत ममताका लागि त्यो दिन पनि सम्भवतः अरू दिनजस्तै सामान्य थियो।

तर कसैले कल्पना गरेको थिएन, त्यो दिन उनको सार्वजनिक जीवनको अन्तिम दिन बन्नेछ।

किनकि त्यसपछि ममता फेरि कहिल्यै देखिइनन्।

दिनहरू बिते। हप्ताहरू बिते। महिना र वर्षसमेत बित्न थाले। तर आजसम्म उनको शव फेला परेको छैन।

Ad imageAd image

अनुसन्धान अघि बढ्यो र घरभित्रबाट भेटिएका प्रमाणहरूले घटनालाई झन् रहस्यमय बनाउँदै लगे। सुत्ने कोठादेखि बाथरुमसम्म रगत भेटियो। फरेन्सिक परीक्षणले उक्त रगतको डीएनए ममताको कपालब्रशबाट प्राप्त डीएनएसँग मेल खाने देखायो।

यसबीच उनका पति, ३८ वर्षीय नरेश भट्ट, जो अमेरिकी सेनाका पूर्व सदस्य हुन्, अनुसन्धानको केन्द्रमा पुगे। उनी हाल हिरासतमा छन् र उनीमाथि पहिलो दर्जाको हत्या, शव अंगभंग तथा शव लुकाएको आरोप लगाइएको छ।

तर यो कथा केवल एउटा सम्भावित हत्याको अनुसन्धान मात्र होइन। यो कथा एउटा नेपाली युवतीको अधुरो सपनाको हो। यो कथा प्रवासमा बाँचिरहेका हजारौँ नेपाली परिवारहरूको यथार्थसँग जोडिएको छ। र यो कथा घरेलु हिंसा, मौन पीडा र समयमै नसुनिएका आवाजहरूले अन्ततः कति भयावह मोड लिन सक्छन् भन्ने कठोर स्मरण पनि हो।

आज सबैले उत्तर खोजिरहेका छन् र प्रश्न एउटै छ।

ममता काफ्ले भट्टलाई वास्तवमा के भयो?

ममता:

ममता काफ्ले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाकी थिइन्।

बाबु कमल काफ्ले र आमा गीता काफ्लेकी एकमात्र छोरी थिईन्। सानैदेखि पढाइमा होशियार अनि व्यवहारमा नम्र थिईन।

ममताले नेपालमा विद्यालय शिक्षा सकाएपछि बैंगलोरमा नर्सिङ पढ्न गइन्। उनले आफ्नो ब्याचमा प्रथम स्थान हासिल गरिन् र नेपाल फर्किइन्।

त्यसबेला उनको जीवनमा नरेश भट्ट आए।

नरेश मूलतः कञ्चनपुरका थिए, तर अमेरिकामा बसोबास गर्दै थिए। ममताका बाबुआमाले सुरुमा आनाकानी गरे किनभने नरेशको परिवारबारे थोरै जानकारी थियो। तर छोरीको खुसीका लागि अन्तत राजि भए।

२०२० डिसेम्बरमा पनौतीमा विवाह भयो। २०२३ अगस्ट २० मा ममताले छोरी नीमालाई जन्म दिइन्।


नरेश भट्ट:

यो मुद्दा बुझ्न नरेश भट्टलाई बुझ्नु जरुरी छ।

Fox 5 DC को रिपोर्टअनुसार, नरेश भट्ट अमेरिकी सेनाको रिजर्भमा २०१७ जुन देखि २०२४ फेब्रुअरीसम्म “अटोमेटेड लजिस्टिक्स स्पेशलिस्ट” थिए।

२०२० मा Fairfax County Police Department ले उनलाई प्रहरीमा भर्ती गर्यो। तर पुलिस एकेडेमी सुरु भएको २२ दिनमै उनलाई “पदको आवश्यकताहरू पूरा गर्न असफल” भएकोले बर्खास्त गरियो।

त्यसपछि उनले सरकारी ठेकेदारको काम गरे।

घरेलु हिंसाका प्रारम्भिक संकेतहरू

सन् २०२४ को फेब्रुअरीमा एउटा घटना भयो, जसले पछि आएर यो सम्पूर्ण घटनाक्रमलाई अझ गम्भीर दृष्टिले हेर्न बाध्य बनायो।

WUSA9 का अनुसार, प्रहरी ममता र नरेशको घरमा “अव्यवस्थित व्यवहार” सम्बन्धी उजुरीपछि पुगेको थियो। त्यतिबेला ममताले आफूले भोगिरहेका केही चिन्ताजनक अवस्थाबारे प्रहरीलाई जानकारी दिएकी थिइन्। उनका अनुसार, नरेशले उनको राहदानी र अन्य महत्त्वपूर्ण कागजातहरू आफ्नो नियन्त्रणमा राखेका थिए र फिर्ता दिन अस्वीकार गरिरहेका थिए। उनले आफ्नो मोबाइल फोनसमेत नष्ट गरिदिएको आरोप लगाएकी थिइन्।

यी विवरणहरू केवल वैवाहिक विवादका सामान्य घटनाजस्तो देखिन सक्थे। तर घरेलु हिंसाका विशेषज्ञहरूका अनुसार, कसैको आवागमन, सम्पर्क र व्यक्तिगत स्वतन्त्रतामाथि नियन्त्रण कायम गर्ने प्रयास प्रायः मानसिक तथा भावनात्मक हिंसाका गम्भीर संकेत मानिन्छन्।

ममताका नजिकका साथीहरू पनि उनको अवस्थाबारे चिन्तित थिए।

CNN सँगको कुराकानीमा उनकी साथी बसन्त थापाले सम्झिइन्:

“मैले उनलाई तुरुन्त घर छोड्न भनेको थिएँ। मसँग बस्न आउन भनेको थिएँ। शेल्टरको विकल्प पनि दिएको थिएँ। मैले सक्ने सबै प्रकारको सहयोग प्रस्ताव गरेकी थिएँ।”

तर ममता त्यही घरमै बसिरहिन्।

किन?

सायद यो प्रश्नको उत्तर कुनै एक कारणमा सीमित छैन।

प्रवासी जीवनको अनिश्चितता, परिवार जोगाउने प्रयास, समाजको दृष्टिकोण, आर्थिक र भावनात्मक निर्भरता, तथा सानो बच्चाको भविष्यप्रतिको चिन्ता यस्ता निर्णयहरूसँग गहिरोसँग जोडिएका हुन्छन्।

Northern Star को विश्लेषणले पनि यही यथार्थलाई औँल्याउँछ। दक्षिण एसियाली समुदायमा विवाहलाई केवल दुई व्यक्तिबीचको सम्बन्धका रूपमा होइन, सामाजिक प्रतिष्ठा र पारिवारिक जिम्मेवारीसँग जोडेर हेर्ने प्रवृत्ति अझै बलियो छ। सम्बन्ध टुट्नु धेरैका लागि व्यक्तिगत असफलता वा सामाजिक लाञ्छनाको विषय बन्न सक्छ।

त्यसमाथि विदेशी भूमिमा एक्लै जीवन सुरु गर्ने डर, सीमित सामाजिक सञ्जाल, र एक वर्षकी छोरीको भविष्यबारेको चिन्ताले ममतालाई अझ जटिल परिस्थितिमा बाँधेको हुन सक्छ।


साउन २०८१:

प्रत्येक अपराधकथामा एउटा यस्तो समय आउँछ, जहाँ पछि फर्केर हेर्दा सामान्य देखिएका घटनाहरू नै सबैभन्दा महत्वपूर्ण प्रमाण बन्न पुग्छन्।

ममता काफ्ले भट्टको जीवनमा पनि साउन २०८१ त्यस्तै एउटा मोड साबित भयो।

पछि अनुसन्धानकर्ताहरूले अदालतमा प्रस्तुत गरेका प्रमाण, सुरक्षा क्यामेराका दृश्यहरू, खरिद विवरणहरू र साक्षीहरूको बयान जोड्दा ममताको अन्तिम दिनहरूको एउटा भयावह चित्र क्रमशः स्पष्ट हुँदै गयो।

अन्तिमपटक देखिएकी ममता

२०८१ साउन १४ गते (जुलाई २७, २०२४) ममतालाई अन्तिमपटक देखिएको मानिन्छ। उनका साथीहरू, सहकर्मीहरू र अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, यही दिन उनको सार्वजनिक उपस्थितिको अन्तिम विश्वसनीय प्रमाण हो।

त्यसपछि ममतालाई कसैले देखेनन्।

तीनवटा चक्कु

साउन १७ गते (जुलाई ३०) नरेश भट्ट Walmart पुगे।

अभियोजन पक्षका अनुसार, त्यहाँबाट उनले तीनवटा चक्कु खरिद गरेका थिए। पछि अनुसन्धानका क्रममा तीमध्ये दुईवटा चक्कु घरभित्र फेला परेनन्।

यो खरिद त्यसबेला सामान्य लाग्न सक्थ्यो। तर ममता हराएपछि यही विवरण अनुसन्धानको केन्द्रबिन्दु बन्यो।

सफाइको असामान्य तयारी

भोलिपल्ट, साउन १८ गते (जुलाई ३१), नरेशले विभिन्न सफाइ सामग्री खरिद गरेको भिडियो प्रमाण अनुसन्धानकर्ताहरूले प्राप्त गरे।

उही दिन ममता आफ्नो नियमित कार्यस्थल UVA Health Prince William Medical Center मा उपस्थित भइनन्।

एक जिम्मेवार नर्स, नियमित कर्मचारी र परिवारप्रति समर्पित आमाका रूपमा परिचित ममता बिना कुनै जानकारी काममा अनुपस्थित भएपछि उनका सहकर्मीहरू चिन्तित बन्न थाले।

सुरुमा कसैले ठूलो अनिष्टको कल्पना गरेको थिएन।

तर समय बित्दै जाँदा चिन्ता शंकामा बदलिन थाल्यो।

पहिलो शंका

ममता सम्पर्कविहीन भएपछि उनका सहकर्मीहरूले प्रहरीलाई जानकारी दिए।

भदौ ३ गते (अगस्ट २) प्रहरी वेलफेयर चेकका लागि म्यानास्सास पार्कस्थित घरमा पुग्यो।

त्यहाँ नरेश भट्टले प्रहरीलाई ममता आफूबाट अलग भएको र सम्भवतः टेक्सास वा न्यूयोर्कतिर परिवार भेट्न गएको बताएका थिए।

तर अनुसन्धानकर्ताहरूले चाँडै एउटा महत्वपूर्ण तथ्य पत्ता लगाए। ममताको अमेरिकामा कुनै पारिवारिक सदस्य बसोबास गर्दैनथे। त्यसैले नरेशको कथनले सुरुदेखि नै प्रश्नहरू जन्माउन थाल्यो।

हराएको व्यक्तिको रिपोर्ट

भदौ ५ गते नरेशले आफैं प्रहरीसमक्ष ममतालाई हराएकी व्यक्तिका रूपमा रिपोर्ट गरे।

अक्सर यस्ता घटनामा परिवारका सदस्यहरू आफैं रिपोर्टकर्ता बन्ने गर्छन्। तर अनुसन्धानकर्ताहरूका लागि यो घटनाक्रम पनि पछि गएर अनुसन्धानको एउटा महत्वपूर्ण पाटो बन्यो।

यसबीच नेपाली समुदाय भने निष्क्रिय बसेन।

समुदायको खोजी अभियान

भदौ ३ देखि ७ गतेसम्म म्यानास्सास पार्क र वरपरका क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरियो। Signal Hill Park लगायत विभिन्न सार्वजनिक स्थानहरूमा स्वयंसेवकहरू, साथीहरू, सहकर्मीहरू र स्थानीय नेपाली समुदायका सदस्यहरू भेला भए।

सबैको एउटै आशा थियो।

ममता जीवित भेटिउन्।

तर प्रत्येक दिनसँगै त्यो आशा कमजोर हुँदै गइरहेको थियो।

अनुसन्धानलाई झन् जटिल बनाउने गतिविधिहरू

खोजी अभियान जारी रहँदा नरेशका केही गतिविधिहरूले अनुसन्धानकर्ताहरूको ध्यान खिच्न थाले। अगस्ट १५ तिर उनले प्रहरीलाई आफ्नी एक वर्षीया छोरी नीमालाई नेपाल पठाउने तयारी गरिरहेको बताए। त्यसको केही दिनपछि, अगस्ट १९ मा उनले आफ्नो नीलो Tesla गाडी CarMax मार्फत बिक्री गरे। त्यसपछि घर बेच्ने प्रयाससम्बन्धी विवरणहरू पनि सार्वजनिक भए।

यी सबै घटनाहरूले अनुसन्धानकर्ताहरूलाई थप सतर्क बनायो।

नीमाको पहिलो जन्मदिन

अगस्ट २० मा नीमा एक वर्षकी भइन्। ममताका साथीहरू र सहकर्मीहरू जन्मदिनको उपहार बोकेर घर पुगे। तर त्यो घरमा जन्मदिनको खुसी थिएन। त्यहाँ एउटा अनुपस्थितिको भारी मौनता थियो। नीमाको पहिलो जन्मदिनमा उनकी आमा उपस्थित थिइनन्। र कसैलाई थाहा थिएन, उनी कहाँ छिन्।

निर्णायक रात

भदौ ८ गते (अगस्ट २१) प्रहरीले अदालतबाट सर्च वारेन्ट प्राप्त गर्‍यो। त्यस रात म्यानास्सास पार्कस्थित घरमा व्यापक खोजी सञ्चालन गरियो। घण्टौँसम्म चलेको अनुसन्धानपछि प्रहरीको आशंका झन् गहिरियो। प्रहरी प्रमुख मारियो लुगोले पत्रकार सम्मेलनमा सार्वजनिक रूपमा भने:

“हामीलाई ममता काफ्ले भट्ट जीवित छैनन् भन्ने बलियो आशंका छ।”

त्यही क्रममा नरेश भट्टलाई अनुसन्धानको केन्द्रमा राखियो। भदौ ९ गते (अगस्ट २२) घटनाक्रमले नयाँ मोड लियो। नरेश भट्टलाई प्रहरीले हत्कडी लगाएर घरबाट बाहिर निकाल्यो। उनीमाथि शव लुकाएको आरोप लगाइयो। त्यही दृश्यको अर्को पाटो अझ मार्मिक थियो। एक वर्षीया नीमालाई प्रहरीले पहेँलो कम्बलमा बेरेर घरबाहिर ल्यायो। त्यो क्षण केवल एउटा अनुसन्धानको दृश्य मात्र थिएन। त्यो एउटा परिवार टुक्रिएको, एउटा बच्चीले आफ्नो भविष्य गुमाउन थालेको, र एउटा रहस्य अब हत्या अनुसन्धानमा रूपान्तरण भएको क्षण थियो। त्यसपछि यो घटना केवल हराएकी महिलाको खोजीमा सीमित रहेन। यो अमेरिकी भूमिमा घटेको सबैभन्दा चर्चित नेपाली आपराधिक घटनामध्ये एक बन्न पुग्यो।


अदालतमा खुलेका भयावह विवरणहरू

भदौ १० गते (अगस्ट २३, २०२४) को अभियोग सुनुवाइमा अभियोजकहरूले भयावह तस्वीर प्रस्तुत गरे। अभियोजकहरूले भने: घरभित्र रगतको “पर्याप्त मात्रा” भेटियो जुन बाँच्न नसकिने चोटको संकेत गर्छ। घरको कोठाको भुइँमा रगत थियो। बाथरुममा रगत थियो। प्रमाणले देखायो कि शरीरलाई कोठाबाट बाथरुममा घिस्रिंदै लगिएको थियो। र त्यहाँ थियो: एउटा विद्युतीय आरा (Power Saw)

Inside Nova को रिपोर्ट अनुसार, अभियोजकहरूले भने: “प्रमाणले देखाउँछ कि ममता काफ्ले भट्टलाई सुत्ने कोठामा मारिएको अनि बाथरुममा अंगभंग गरिएको थियो।”

Google Search History

नरेश भट्टको Google search history मा ममता हराउनुभन्दा महिनौं अघि देखि यस्ता प्रश्नहरू थिए:

“पति वा पत्नीको मृत्युपछि कति समयमा पुनर्विवाह गर्न सकिन्छ?”

“पत्नीको मृत्युको घटनामा के हुन्छ?”

यी Search हरू महिनौं अघिबाट थिए। यसैले प्रविष्ट गर्दै थियो कि यो कुनै अचानकको क्रोधको घटना थिएन र योजनाबद्ध रुपमै गरिएको षड्यन्त्र थियो।


फरेन्सिक प्रमाणहरूको जाल:

ममता काफ्ले भट्ट मुद्दाको सबैभन्दा जटिल र महत्वपूर्ण पक्ष फरेन्सिक प्रमाणहरू हुन्। किनभने यो सामान्य हत्या अनुसन्धान होइन। यो एउटा यस्तो मुद्दा हो जहाँ अभियोजन पक्षसँग शव छैन, तर उनीहरूले अदालतलाई हत्या भएको प्रमाणित गर्नुपर्छ।

अमेरिकी कानुनी भाषामा यसलाई “नो बडी केस” भनिन्छ, अर्थात् शव फेला नपरेको अवस्थामा पनि परिस्थितिजन्य र वैज्ञानिक प्रमाणका आधारमा हत्या भएको साबित गर्ने प्रयास। यस्ता मुद्दाहरू दुर्लभ मात्र होइनन्, अत्यन्त कठिन पनि मानिन्छन्।

यही कारणले यस घटनामा फरेन्सिक प्रयोगशालाबाट आएका प्रत्येक नयाँ रिपोर्ट, प्रत्येक डीएनए नतिजा र प्रत्येक सूक्ष्म प्रमाण अनुसन्धानको मेरुदण्ड बनेका छन्।

पहिलो कडी: घरभित्र भेटिएको रगत

२०८१ मंसिर (डिसेम्बर २०२४) मा सार्वजनिक भएका अदालती विवरणहरूले अनुसन्धानलाई नयाँ मोड दिए।

अनुसन्धानकर्ताहरूले म्यानास्सास पार्कस्थित घरको सुत्ने कोठा र बाथरुमबाट संकलन गरिएको रगतको नमुनाको परीक्षण गरेका थिए।

नतिजा महत्वपूर्ण थियो।

परीक्षणमा ममतासँग मेल खाने डीएनए प्रोफाइल फेला परेको बताइयो। यसले एउटा महत्वपूर्ण प्रश्न उठायो। यदि ममता स्वेच्छाले घर छोडेर गएकी थिइन् भने, घरभित्र विभिन्न स्थानमा उनको रगत किन थियो? अनुसन्धानकर्ताहरूका लागि यही बिन्दुबाट घटनाको स्वरूप हराएकी व्यक्तिको खोजीबाट सम्भावित हत्या अनुसन्धानतर्फ स्पष्ट रूपमा मोडिन थाल्यो। अझ महत्वपूर्ण कुरा, यही रगत एउटा अन्य वस्तुमा पनि फेला परेको थियो, एउटा विद्युतीय आरा (Power Saw)

दोस्रो कडी: आराबाट निस्किएका नयाँ रहस्य

करिब डेढ वर्षपछि, २०८३ जेठ १९ गते (मे १९, २०२६) सार्वजनिक भएका अदालती कागजातहरूले अनुसन्धानमा अर्को महत्वपूर्ण अध्याय थपे। Virginia Department of Forensic Science को रिपोर्टअनुसार, अनुसन्धानकर्ताहरूले उक्त विद्युतीय आरा (Power Saw) बाट तीनवटा मानवीय कपाल, १३ वटा कपालका टुक्रा तथा अन्य सूक्ष्म रेशाजन्य पदार्थहरू फेला पारेका थिए।

यीमध्ये तीनवटा कपाल यति राम्रो अवस्थामा थिए कि तिनमा न्युक्लियर डीएनए परीक्षण सम्भव मानियो। फरेन्सिक विज्ञानमा यो सामान्य उपलब्धि होइन। किनभने डीएनए विश्लेषण गर्न योग्य जैविक नमुना प्राप्त हुनु अनुसन्धानका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। George Mason University का फरेन्सिक विज्ञान प्राध्यापक केली नाइटले WJLA सँग कुरा गर्दै यसलाई अनुसन्धानको दृष्टिले ठूलो उपलब्धि भएको बताएकी थिइन्। उनका अनुसार, यस्तो प्रमाणले घटनाबारे थप स्पष्टता ल्याउन मद्दत गर्न सक्छ।

तेस्रो कडी: कपालब्रश र विद्युतीय आराको सम्बन्ध

फरेन्सिक अनुसन्धानको सबैभन्दा रोचक पक्ष भनेको अलग-अलग वस्तुहरूबीच सम्बन्ध स्थापित गर्नु हो। Inside Nova का अनुसार, अनुसन्धानकर्ताहरूले आराबाट संकलन गरिएको रगतको नमुना र ममताको व्यक्तिगत कपालब्रशबाट प्राप्त डीएनए प्रोफाइलबीच तुलना गरेका थिए। नतिजाले अनुसन्धानलाई थप बलियो बनायो। विश्लेषणमा नरेश भट्ट र उनकी छोरी नीमालाई सम्भावित स्रोतका रूपमा हटाइयो।अर्थात्, आरामा भेटिएको जैविक नमुना उनीहरूको थिएन।

त्यसैगरी, विश्लेषकहरूले ममतालाई सम्भावित स्रोतबाट हटाउन सकेनन्। सरल भाषामा भन्नुपर्दा, वैज्ञानिक प्रमाणहरूले ममतासँग सम्बन्धित जैविक सामग्री आरामा रहेको सम्भावना बलियो देखाएको थियो।

चौथो कडी: घरभरि छरिएका प्रमाणहरू

अनुसन्धान केवल एउटा कोठा वा एउटा वस्तुमा सीमित थिएन। WJLA का अनुसार, प्रहरीले घरभित्रबाट विभिन्न वस्तुहरू संकलन गरेको थियो।

तीमध्ये:

  • ममताको कपालब्रश
  • कार्पेटका टुक्राहरू
  • फोहोरको डब्बा
  • बाथरुममा प्रयोग गरिएको कपडा
  • विद्युतीय आरा (Power Saw)
  • विभिन्न चक्कुहरू

समावेश थिए।

परीक्षणको क्रममा कार्पेट, बाथरुमको कपडा, फोहोरको डब्बा र विद्युतीय आरामा रगतको संकेत फेला परेको बताइएको थियो। रोचक कुरा के थियो भने, अनुसन्धानको केन्द्रमा रहेका चक्कुहरूमा भने रगत फेला परेन। यसले अनुसन्धानलाई अझ जटिल बनायो र घटनाको वास्तविक स्वरूपबारे थप प्रश्नहरू जन्मायो।

पाँचौं कडी: अदालतमा विज्ञान र तर्कको संघर्ष

फरेन्सिक प्रमाणहरू बलियो देखिए पनि अदालतमा कुनै पनि प्रमाण अन्तिम सत्य मानिँदैन। त्यसलाई चुनौती दिने अधिकार रक्षापक्षसँग हुन्छ। WUSA9 का अनुसार, नरेश भट्टका वकिल फ्र्याङ्क साल्भाटोले डीएनए प्रमाणलाई लिएर प्रश्न उठाएका थिए।

उनको तर्क थियो:

“डीएनए  प्रमाण  महत्वपूर्ण  हुन  सक्छ,  तर  के  यसले  त्यो  नमुना  ममताकै  हो  भन्ने  शतप्रतिशत  पुष्टि  गर्छ?”

यो प्रश्न कानुनी दृष्टिले महत्वपूर्ण थियो।

किनभने आपराधिक मुद्दामा शंकाभन्दा पर गएर प्रमाणित गर्नुपर्ने जिम्मेवारी अभियोजन पक्षको हुन्छ। तर अर्कोतर्फ, अभियोजन पक्षसँग काम गरिसकेका कानुनी तथा फरेन्सिक विश्लेषकहरू फरक दृष्टिकोण राख्छन्।

विशेषज्ञ फिशविकका अनुसार, कुनै पनि वैज्ञानिक अनुसन्धानमा केही खाली ठाउँहरू रहन सक्छन्। तर अदालतले प्रमाणहरूलाई छुट्टाछुट्टै होइन, समग्र रूपमा मूल्याङ्कन गर्छ।

उनको तर्क थियो कि जब रगत, डीएनए, आरा, खरिद विवरण, व्यवहारगत गतिविधि र अन्य परिस्थितिजन्य प्रमाणहरू एउटै दिशातर्फ संकेत गर्न थाल्छन्, तब जुरीले घटनाको एउटा समग्र तस्वीर निर्माण गर्छ।र यही कारणले यो मुद्दामा फरेन्सिक प्रमाणहरू केवल प्रयोगशालाका रिपोर्टहरू मात्र होइनन्।

यी प्रमाणहरू ममता काफ्ले भट्टको अन्तिम दिनहरूमा वास्तवमा के भयो भन्ने प्रश्नको उत्तर खोज्ने सबैभन्दा महत्वपूर्ण वैज्ञानिक दस्तावेज बनेका छन्। यद्यपि अन्तिम निर्णय अदालतले गर्नेछ, तर अहिलेसम्म सार्वजनिक भएका फरेन्सिक विवरणहरूले अनुसन्धानलाई निरन्तर एउटै प्रश्नतर्फ धकेलिरहेका छन्, यदि ममता स्वेच्छाले हराएकी थिइन् भने, उनका जैविक प्रमाणहरू घरभित्र यति धेरै स्थानमा किन भेटिए?

नरेशका बदलिँदै गएका कथाहरू:

हत्या अनुसन्धानमा कहिलेकाहीँ सबैभन्दा महत्वपूर्ण प्रमाण कुनै भौतिक वस्तु हुँदैन। कहिलेकाहीँ एउटा व्यक्तिले बारम्बार बदल्ने कथा नै अनुसन्धानको केन्द्रबिन्दु बन्न पुग्छ।

ममता काफ्ले भट्ट मुद्दामा पनि अनुसन्धानकर्ताहरूले विशेष ध्यान दिएको एउटा पक्ष यही थियो, नरेश भट्टले विभिन्न समयमा प्रहरीलाई दिएका फरक–फरक बयानहरू।

घटनाको सुरुवातदेखि नै उनले प्रस्तुत गरेका कथनहरूमा देखिएको असंगति अनुसन्धानको क्रममा बारम्बार उठ्ने विषय बन्यो।

पहिलो कथा: परिवार भेट्न गएकी पत्नी

अगस्ट २, २०२४ मा ममता सम्पर्कविहीन भएको सूचना पाएपछि प्रहरी वेलफेयर चेकका लागि घरमा पुगेको थियो। त्यतिबेला नरेशले प्रहरीलाई आफू र ममता अलग हुने प्रक्रियामा रहेको र ममता टेक्सास वा न्यूयोर्कमा रहेका परिवारका सदस्यहरूलाई भेट्न गएको बताएका थिए। पहिलो दृष्टिमा यो सामान्य व्याख्याजस्तो सुनिन्थ्यो। तर अनुसन्धान अगाडि बढ्दै जाँदा एउटा महत्वपूर्ण तथ्य बाहिर आयो।

ममताका अमेरिकामा कुनै पारिवारिक सदस्य बसोबास गर्दैनथे।

यसले नरेशको प्रारम्भिक कथनमाथि नै गम्भीर प्रश्न उठायो।

यदि उनी वास्तवमै परिवार भेट्न गएकी थिइन् भने, त्यो परिवार को थियो?

र यदि परिवार नै थिएन भने, यस्तो जानकारी किन दिइयो?

दोस्रो कथा: हराएकी पत्नीको रिपोर्ट

प्रारम्भिक बयानपछि केही दिनमै अर्को घटनाक्रम भयो।

अगस्ट ५ मा नरेश भट्ट आफैं प्रहरीकहाँ पुगे र ममतालाई हराएकी व्यक्तिका रूपमा रिपोर्ट दर्ता गराए। सामान्यतया जीवनसाथी हराएपछि खोजीमा सहयोग गर्नु स्वाभाविक मानिन्छ। तर अनुसन्धानकर्ताहरूले नरेशका अघिल्ला र पछिल्ला गतिविधिहरूलाई एकसाथ विश्लेषण गर्न थालेपछि उनका कदमहरू थप चासोको विषय बन्न थाले।

तेस्रो कथा: छोरीलाई नेपाल पठाउने तयारी

अगस्ट १५ तिर नरेशले प्रहरीलाई अर्को जानकारी दिएका थिए। उनका अनुसार, उनी आफ्नी एक वर्षीया छोरी नीमालाई नेपाल पठाउने तयारी गरिरहेका थिए।

त्यतिबेला ममता अझै आधिकारिक रूपमा हराएकी व्यक्तिका रूपमा खोजीमा थिइन्। तर छोरीलाई देशबाहिर पठाउने तयारीको विषयले अनुसन्धानकर्ताहरूलाई थप सतर्क बनायो। किनभने हराएकी आमाको खोजी जारी रहँदा परिवारको भविष्यबारे यति छिटो निर्णय लिन खोजिनुको कारणबारे स्वाभाविक रूपमा प्रश्नहरू उठ्न थाले।

चौथो कदम: गाडी बिक्री

खोजी अभियान तीव्र भइरहेका बेला नरेशले अर्को निर्णय लिए। अगस्ट १९ मा उनले आफ्नो नीलो Tesla गाडी CarMax मार्फत बिक्री गरे। सामान्य परिस्थितिमा गाडी बेच्नु अस्वाभाविक होइन। तर जब कुनै व्यक्तिको जीवनसाथी रहस्यमय परिस्थितिमा हराएकी हुन्छिन् र अनुसन्धान तीव्र गतिमा अघि बढिरहेको हुन्छ, त्यस्ता गतिविधिहरू अनुसन्धानकर्ताहरूका लागि चासोको विषय बन्न पुग्छन्। पछि अदालतमा पनि यो घटनाक्रम उल्लेख गरिएको थियो।

पाँचौं कदम: घर बेच्ने प्रयास

त्यसको केही समयपछि नरेशले घर बेच्ने प्रयास गरेको विवरण पनि सार्वजनिक भयो। यससँगै अनुसन्धानकर्ताहरूले अर्को कुरा पनि फेला पारे। पासपोर्टहरू तयार अवस्थामा राखिएको थियो। यी सबै घटनाहरूलाई छुट्टाछुट्टै हेर्दा तिनको आफ्नै व्याख्या हुन सक्छ। तर अनुसन्धानकर्ताहरूले तिनलाई एउटै समयरेखाभित्र राखेर हेर्न थाले। र त्यसपछि प्रश्नहरू अझ गहिरिँदै गए।

अर्को व्याख्या: फोन कसले नष्ट गर्यो?

CNN को रिपोर्ट अनुसार, नरेशले प्रहरीलाई ममताले आफ्नो मोबाइल फोन आफैं नष्ट गरेकी थिइन् भन्ने दाबी पनि गरेका थिए। तर यसअघि घरेलु विवादका क्रममा ममताले प्रहरीसमक्ष आफ्ना कागजात नियन्त्रणमा राखिएको र फोन नष्ट गरिएको गुनासो गरिसकेकी थिइन्। यी दुई विवरणबीचको विरोधाभास पनि अनुसन्धानको एउटा महत्वपूर्ण पक्ष बन्यो।

अनुसन्धानकर्ताहरूले किन ध्यान दिए?

अदालतमा प्रस्तुत गरिएका प्रमाणहरू हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ। अनुसन्धानकर्ताहरूले केवल रगत, डीएनए वा फरेन्सिक प्रमाणहरू मात्र अध्ययन गरेका थिएनन्। उनीहरूले मानिसहरूको व्यवहार पनि अध्ययन गरिरहेका थिए।

एक व्यक्तिले विभिन्न समयमा के भन्यो?

उसका भनाइहरू कत्तिको मिल्छन्?

र उसका कार्यहरू ती भनाइसँग मेल खान्छन् कि खाँदैनन्?

यिनै प्रश्नहरूको उत्तर खोज्ने क्रममा नरेशका बयानहरू अनुसन्धानको महत्वपूर्ण भाग बने।किनभने कहिलेकाहीँ अपराध अनुसन्धानमा सबैभन्दा ठूलो प्रश्न एउटा प्रमाणले होइन, एउटा कथाले उठाउँछ। र ममता काफ्ले भट्ट मुद्दामा नरेश भट्टका बदलिँदै गएका कथाहरू त्यस्तै प्रश्नहरूको केन्द्रमा उभिएका छन्।

नेपाली समुदायको जागरण

ममता हराएको खबर उत्तरी भर्जिनियाको नेपाली समुदायमा आगोजस्तो फैलियो। WTVR को रिपोर्टमा स्थानीय नेपाली समुदायकी Bina Khadkalama ले भनिन्: “मेरी साथीले फोन गरेर भनिन् ‘के सोच्छौ?’ मैले भनें ‘कुरा गरौं।’ त्यसपछि ग्रुप च्याट बन्यो, र आन्दोलन सुरु भयो।”

सामुदायिक खोजी सुरु भयो। Signal Hill Park सहित म्यानास्सास पार्कका विभिन्न ठाउँहरूमा दर्जनौं स्वयंसेवकहरू निस्किए। हजारौंले “Find Mamta” अभियान सोसियल मिडियामा सञ्चालन गरे। बैजनी रिबनहरू घरेलु हिंसाको जागरणको प्रतीकका रूपमा लगाइयो। “ममताको हत्या भइसकेको थियो भन्ने हामीलाई थाहा थिएन,” साथी Holly Wirth ले भनिन्। “तर हामी उनका लागि लड्नेछौं।”


रहस्य र अनुत्तरित प्रश्नहरू

यो मुद्दामा केही कुराहरू अझैसम्म अनुत्तरित छन्।

पहिलो: ममताको शव कहाँ छ?

सबैभन्दा ठूलो अनुत्तरित प्रश्न यही हो। प्रहरीले म्यानास्सास पार्क र वरपरका ठाउँहरूमा व्यापक खोजी गरे। नदी, जंगल, पार्कहरू, सबैतिर। शव भेटिएन।

अभियोजकहरूले भनेका छन्: “शव टुक्राटुक्रा पारेर लगिएको हुन सक्छ।” तर कहाँ, कसरी लगियो, यो अझैसम्म अज्ञात छ।

दोस्रो: Tesla गाडीमा के थियो?

नरेशले गाडी बेचेपछि प्रहरीले त्यो गाडी जफत गर्यो। तर गाडीभित्र के फेला पर्यो, यसको विस्तृत जानकारी सार्वजनिक भएको छैन।

तेस्रो: नरेशले कसको मद्दत लिए?

यो मुद्दाको सबैभन्दा चर्चित अनुत्तरित प्रश्न हो। एक्लैले एउटा शवलाई यसरी लुकाउन सम्भव छ? केही अनुसन्धाताहरूको मत छ कि कुनै सहायक हुनुपर्छ। तर अहिलेसम्म यस सम्बन्धमा कुनै आधिकारिक जानकारी छैन।

चौथो: घरेलु हिंसाको उजुरी किन अगाडि बढेन?

फेब्रुअरीमा ममताले प्रहरीलाई डोमेस्टिक भायोलेन्सबारे जानकारी दिइसकेकी थिइन्। तर नरेशमाथि कुनै घरेलु हिंसाको आरोप लागेन, कुनै कारवाही भएन। रक्षापक्षका वकिलले यही तर्क गरे: “उनको हिंसाको कुनै आपराधिक इतिहास छैन।” तर साथीहरू भन्थे: ममताको शरीरमा चोटका निशानहरू थिए।


“नो बडी” मुद्दा: कति कठिन छ जित्न?

ममता काफ्ले भट्ट मुद्दाको सबैभन्दा जटिल कानुनी पक्ष एउटै हो। ममताको शव आजसम्म फेला परेको छैन। सामान्यतया हत्या मुद्दामा मृतकको शव सबैभन्दा महत्वपूर्ण प्रमाण मानिन्छ। शवले मृत्युको कारण, समय, सम्भावित हतियार र घटनाको प्रकृतिबारे महत्वपूर्ण जानकारी दिन सक्छ। तर यो मुद्दामा अनुसन्धानकर्ताहरूसँग त्यो सुविधा छैन।

यही कारणले यसलाई अमेरिकी कानुनी प्रणालीमा “नो बडी केस” अर्थात् शवविहीन हत्या मुद्दाको रूपमा हेरिएको छ। यस्ता मुद्दाहरू कानुनी रूपमा अत्यन्त चुनौतीपूर्ण मानिन्छन्। किनभने अभियोजन पक्षले अदालत र जुरीलाई एउटा अत्यन्त महत्वपूर्ण कुरा प्रमाणित गर्नुपर्छ, शव नभए पनि हत्या भएको थियो भन्ने कुरा।

किन यस्ता मुद्दा कठिन मानिन्छन्?

अमेरिकी कानुनअनुसार कुनै व्यक्तिको शव फेला नपर्दैमा हत्या प्रमाणित गर्न नसकिने भन्ने होइन। तर अभियोजन पक्षले त्यसका लागि परिस्थितिजन्य प्रमाण, फरेन्सिक प्रमाण, व्यवहारगत गतिविधि, डिजिटल प्रमाण र घटनापछिका क्रियाकलापहरूलाई जोडेर एउटा पूर्ण चित्र निर्माण गर्नुपर्छ।

अन्ततः प्रश्न एउटै रहन्छ।

के प्रस्तुत प्रमाणहरू यति बलिया छन् कि जुरीले शंकाभन्दा पर गएर हत्या भएको निष्कर्ष निकाल्न सकोस्?

यही कारणले “नो बडी केस” हरूमा वैज्ञानिक प्रमाणहरूको महत्व अझ बढी हुन्छ।

रक्षापक्षको दृष्टिकोण

WTVR सँगको कुराकानीमा नरेश भट्टका वकिल फ्र्याङ्क साल्भाटोले पनि यस्ता मुद्दाहरूको जटिलताबारे टिप्पणी गरेका थिए। उनले आफूले यसअघि पनि शव नभएका हत्या मुद्दाहरूमा काम गरेको उल्लेख गर्दै नयाँ फरेन्सिक प्रमाणहरू महत्वपूर्ण हुन सक्ने बताएका थिए।

उनका अनुसार, यदि आराबाट फेला परेका कपालहरूको डीएनए परीक्षणले ती वास्तवमै ममताकै भएको पुष्टि गर्‍यो भने, त्यसले रक्षापक्षमाथि थप दबाब सिर्जना गर्न सक्छ। तर कानुनी रूपमा उनीहरूको मुख्य तर्क अझै पनि उही छ।

शव छैन।

र शव नभएको अवस्थामा अभियोजन पक्षले प्रस्तुत गर्ने प्रत्येक प्रमाणलाई छुट्टाछुट्टै चुनौती दिन सकिन्छ।

अभियोजन पक्षसँग के-के छन्?

अहिलेसम्म सार्वजनिक भएका अदालती विवरणहरू हेर्दा अभियोजन पक्षले आफ्नो मुद्दा विभिन्न तहका प्रमाणहरूमा निर्माण गरिरहेको देखिन्छ।

तीमध्ये:

  • घरभित्र भेटिएको रगत र डीएनए विश्लेषण
  • विद्युतीय आरा (Power Saw) मा फेला परेका जैविक प्रमाणहरू
  • आराबाट प्राप्त कपाल र रेशाजन्य सामग्री
  • ममताको कपालब्रशसँग गरिएको डीएनए तुलना
  • ममता हराउनुअघि खरिद गरिएका चक्कुहरू
  • त्यसपछि खरिद गरिएका सफाइ सामग्री
  • नरेशका बदलिँदै गएका बयानहरू
  • गाडी बिक्री र घर बेच्ने प्रयास
  • पासपोर्टहरू तयार अवस्थामा राखिएको विवरण
  • डिजिटल गतिविधि र Google खोजी इतिहास

जस्ता प्रमाणहरू समावेश छन्।

यीमध्ये कुनै एउटा प्रमाणले मात्र हत्या प्रमाणित नहुन सक्छ। तर अभियोजन पक्षको रणनीति ती सबै प्रमाणलाई एउटै घटनाक्रमको हिस्सा बनाएर प्रस्तुत गर्ने देखिन्छ।

रक्षापक्षसँग के छ?

रक्षापक्षको सबैभन्दा बलियो तर्क अहिले पनि एउटै छ। ममता काफ्ले भट्टको शव फेला परेको छैन। शव नभएको अवस्थामा मृत्यु कसरी भयो, कहाँ भयो, र वास्तवमा के भयो भन्ने विषयमा पूर्ण निश्चितता कायम गर्न कठिन हुन्छ भन्ने उनीहरूको धारणा छ।

यही कारणले यो मुद्दाको अन्तिम निर्णय केवल एउटा प्रमाणले होइन, सम्पूर्ण प्रमाणहरूको सामूहिक प्रभावले निर्धारण गर्ने सम्भावना छ।

अन्ततः निर्णय कसले गर्ने?

यो मुद्दामा अदालतले कुनै एक प्रमाणलाई मात्र हेर्ने छैन। जुरीले रगत, डीएनए, कपाल, खरिद विवरण, व्यवहारगत गतिविधि, डिजिटल प्रमाण, बयानहरू र घटनापछिका गतिविधिहरूलाई समग्र रूपमा मूल्याङ्कन गर्नेछ। र त्यसपछि एउटा प्रश्नको उत्तर खोज्नेछ। यदि ममता जीवित थिइन् भने, उनी कहाँ छिन्?

र यदि उनी जीवित थिइनन् भने, त्यसको जिम्मेवार को हो?

सायद यही कारणले ममता काफ्ले भट्ट मुद्दा केवल एउटा हराएकी महिलाको कथा होइन। यो अमेरिकी कानुनी प्रणालीले शवविहीन हत्या मुद्दालाई कसरी हेर्छ भन्ने एउटा महत्वपूर्ण परीक्षण पनि बनेको छ।

अक्टोबर २०२६ मा सुरु हुने मुद्दाले यही प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्नेछ।

घरेलु हिंसाको व्यापक सन्दर्भ

ममताको कथाले अमेरिकामा बसोबास गर्ने नेपाली महिलाहरूको एउटा गहिरो समस्या उजागर गर्यो।

Northern Star को विश्लेषणअनुसार, प्रवासी नेपाली महिलाहरूले घरेलु हिंसाको विरुद्ध आवाज उठाउन थप कठिनाइ भोग्छन्:

भाषाको अवरोध, आर्थिक निर्भरता, भिसा स्थितिको डर, समुदायको आलोचनाको डर, र “पतिलाई देव मान्ने” सांस्कृतिक दबाब।

WUSA9 को रिपोर्टमा Del. Michelle Maldonado ले भनिन्: “ममताको मुद्दाले देखायो कि हाम्रो समुदायमा धेरैजनाले भन्दैछन्, ‘उनलाई जे भयो, मलाई पनि घरमा त्यस्तै भइरहेको छ।'”

ACTS नामको घरेलु हिंसाविरुद्धको संस्थाले ममताको मुद्दापछि आपतकालीन बैठक बोलाएको थियो। सेवाको माग एकदमै बढेको थियो।


नीमा: एउटा बच्चीको नियति

यो सबै कुराको बीचमा एउटा कुरा विर्सन हुँदैन।

एक वर्षीया नीमा।

जुन दिन उनका बाबु हत्कडीमा निस्किए, त्यही दिन प्रहरीले उनलाई पहेँलो कम्बलमा बेरेर बाहिर निकाले। नीमालाई त्यसपछि सामाजिक सेवा विभागले लियो अनि पछि उनकी हजुरआमा र मामा नेपालबाट अमेरिका आए र उनको हेरचाह गर्न थाले।

नीमा अहिले तीन वर्षकी छन् र आफ्नी आमाको मुहार चिन्दिनन्।


अब नजर अदालततर्फ: अक्टोबर २०२६ मा सुरु हुने निर्णायक लडाइँ

करिब दुई वर्षभन्दा लामो अनुसन्धान, सयौँ पृष्ठका अदालती कागजात, फरेन्सिक परीक्षणहरू, डिजिटल प्रमाणहरूको विश्लेषण र निरन्तर सार्वजनिक चासोपछि अब ममता काफ्ले भट्ट मुद्दा आफ्नो सबैभन्दा महत्वपूर्ण चरणमा प्रवेश गर्दैछ।

त्यो चरण हो, अदालत।

यो केवल एउटा आपराधिक मुद्दाको सुनुवाइ मात्र हुनेछैन। यो अभियोजन पक्षले निर्माण गरेको सम्पूर्ण घटनाक्रम, फरेन्सिक प्रमाण, डिजिटल गतिविधि, व्यवहारगत संकेत र परिस्थितिजन्य प्रमाणहरूको अन्तिम परीक्षण पनि हुनेछ।

किन सारियो मुद्दा?

सुरुवाती योजनाअनुसार मुद्दाको सुनुवाइ सेप्टेम्बर २०२५ मा सुरु हुने अपेक्षा गरिएको थियो।

तर मुद्दाको जटिलता, ठूलो परिमाणमा संकलित प्रमाणहरू, फरेन्सिक परीक्षणहरू तथा दुवै पक्षलाई तयारीका लागि आवश्यक समयलाई ध्यानमा राख्दै अदालतले समयतालिका परिवर्तन गर्‍यो।

Prince William County Circuit Court की न्यायाधीश Kimberly A. Irving ले जुलाई २०२५ मा दुवै पक्षको अनुरोधलाई स्वीकार गर्दै मुद्दालाई सेप्टेम्बर २०२५ बाट अक्टोबर २०२६ सम्म सार्ने निर्णय गरिन्।

अदालतको यो निर्णयले एउटा कुरा स्पष्ट पारेको थियो।

यो सामान्य आपराधिक मुद्दा होइन।

यो त्यस्तो मुद्दा हो जसको प्रत्येक प्रमाण, प्रत्येक वैज्ञानिक निष्कर्ष र प्रत्येक कानुनी तर्क अदालतमा गहिरो रूपमा परीक्षण हुने अपेक्षा गरिएको छ।

सात हप्तासम्म चल्न सक्ने सुनुवाइ

Inside Nova का अनुसार, मुद्दाको मुख्य सुनुवाइ अक्टोबर ५, २०२६ बाट सुरु हुने तय भएको छ। अदालतले प्रारम्भिक रूपमा सुनुवाइ करिब सात हप्तासम्म चल्न सक्ने अनुमान गरेको छ। यस अवधिमा अभियोजन पक्षले आफ्नो सम्पूर्ण प्रमाण अदालतसमक्ष प्रस्तुत गर्नेछ भने रक्षापक्षले ती प्रमाणहरूको विश्वसनीयता र कानुनी वैधतामाथि प्रश्न उठाउने प्रयास गर्नेछ। यही सुनुवाइमा पहिलोपटक सम्पूर्ण प्रमाणहरू एउटै मञ्चमा विस्तृत रूपमा प्रस्तुत हुनेछन्।

सुनुवाइअघि अझै बाँकी छन् महत्वपूर्ण चरणहरू

मुख्य मुद्दा सुरु हुनुअघि पनि अदालतमा केही महत्वपूर्ण कानुनी प्रक्रिया बाँकी छन्। जुन २५ मा मोसन सुनुवाइ, अगस्ट १३ मा अर्को मोसन सुनुवाइ, र सेप्टेम्बर २५ मा प्रि-ट्रायल सम्मेलन तय गरिएको छ। यी सुनुवाइहरूमा कुन प्रमाण अदालतमा स्वीकार गरिनेछ, कुन विशेषज्ञले साक्षी दिनेछन्, र सुनुवाइको प्रक्रिया कसरी अघि बढ्नेछ भन्ने विषयमा निर्णय हुन सक्छ। यस्ता पूर्व-सुनुवाइ प्रक्रियाहरू कहिलेकाहीँ मुख्य मुद्दाजत्तिकै महत्वपूर्ण मानिन्छन्, किनभने यही चरणमा धेरै कानुनी रणनीतिहरू तय गरिन्छन्।

नरेश अझै हिरासतमा

मुद्दाको अन्तिम सुनुवाइ सुरु हुन अझै केही समय बाँकी भए पनि नरेश भट्ट भने हालसम्म हिरासतमै छन्।

उनी Prince William–Manassas Regional Adult Detention Center मा छन्।

अदालतले यसअघि उनलाई जमानत नदिने निर्णय गरेको थियो। अभियोजन पक्षले उनी भाग्न सक्ने जोखिम तथा समुदायका लागि सम्भावित खतरा रहेको तर्क प्रस्तुत गरेको थियो भने अदालतले पनि त्यसलाई स्वीकार गरेको थियो।

न्यायको प्रतीक्षामा एउटा परिवार

अक्टोबर २०२६ केवल एउटा मिति होइन। यो ममताकी आमा गीता काफ्ले, उनका परिवार, उनका साथीहरू, नेपाली समुदाय र यो घटनालाई नजिकबाट पछ्याइरहेका हजारौँ मानिसहरूको प्रतीक्षाको अन्तिम गन्तव्य पनि हो।

करिब दुई वर्षदेखि एउटै प्रश्न अनुत्तरित छ। ममता काफ्ले भट्टलाई वास्तवमा के भयो? अदालतको आगामी सुनुवाइले त्यो प्रश्नको उत्तर दिन सक्छ वा अझ नयाँ प्रश्नहरू जन्माउन सक्छ।

तर एउटा कुरा निश्चित छ।

अक्टोबर २०२६ मा सुरु हुने यो मुद्दा केवल एउटा हत्या आरोपको सुनुवाइ मात्र हुनेछैन। यो सत्य, प्रमाण, विज्ञान र न्यायबीचको सबैभन्दा महत्वपूर्ण टकराव हुनेछ, जसको परिणामलाई नेपाली समुदायले मात्र होइन, अमेरिकाको न्याय प्रणालीले समेत चासोपूर्वक हेर्नेछ।

अन्तमा:

अन्तिम प्रश्न अझै बाँकी छ

ममता काफ्ले भट्ट आज पनि भेटिएकी छैनन्।

करिब दुई वर्ष बितिसक्दा पनि उनको शव फेला परेको छैन। अनुसन्धान अगाडि बढेको छ। फरेन्सिक प्रमाणहरू सार्वजनिक भएका छन्। अदालतको प्रक्रिया अन्तिम चरणतर्फ बढिरहेको छ। तर एउटा प्रश्न अझै पनि अनुत्तरित छ।

ममता कहाँ छिन्?

सायद यही प्रश्नले यो घटनालाई एउटा सामान्य आपराधिक मुद्दाभन्दा धेरै ठूलो बनाएको छ। यो केवल अदालतको फाइलमा सीमित रहेको घटना होइन। यो एउटा परिवारको पीडा, एउटा समुदायको चिन्ता र एउटा महिलाको अधुरो कथाको प्रतीक बनेको छ।

एउटी आमाको प्रतीक्षा

ममताकी आमा गीता काफ्ले हजारौँ किलोमिटर टाढाबाट अमेरिका पुगिन्। उनले अदालतका सुनुवाइहरूमा सहभागिता जनाइन्। अनुसन्धानका प्रत्येक नयाँ विवरण सुनेकी छन्। प्रत्येक प्रमाण, प्रत्येक बयान र प्रत्येक अदालती बहससँगै उनी आफ्नी छोरीबारे सत्यको खोजीमा बसेकी छन्।

तर कुनै पनि आमाका लागि त्यो यात्रा सहज हुन सक्दैन।

आफ्नो सन्तानबारेका भयावह विवरणहरू अदालतको कठघरामा बसेर सुन्नु आफैंमा एउटा असह्य पीडा हो।

यही पीडाबीच उनले आफ्नी छोरीलाई सम्झँदै भनेकी थिइन्:

“मेरी  छोरी  धेरै  मेहनती  थिइन्।  इमानदार  थिइन्।  साहसी  थिइन्।”

यी शब्दहरू केवल आमाको सम्झना मात्र होइनन्। यी ममतालाई चिन्ने धेरै मानिसहरूले वर्णन गरेको व्यक्तित्वसँग पनि मेल खान्छन्।

अब निर्णय अदालतको हातमा

अक्टोबर २०२६ मा मुद्दाको सुनुवाइ सुरु हुनेछ र निर्णय बाह्र सदस्यीय जुरीले गर्नेछ।

फरेन्सिक प्रमाणहरू, डिजिटल गतिविधिहरू, व्यवहारगत संकेतहरू, साक्षीहरूका बयान र घटनापछिका गतिविधिहरूको समग्र मूल्याङ्कनपछि उनीहरूले एउटा निष्कर्ष निकाल्ने प्रयास गर्नेछन्।

तर अदालतको निर्णय जे आए पनि केही यथार्थहरू परिवर्तन हुने छैनन्।

एउटा परिवारको अपूरणीय क्षति

यो घटनाको केन्द्रमा कुनै कानुनी बहस मात्र छैन। त्यहाँ एउटा परिवार छ। एउटी आमा छिन्, जसले छोरी गुमाएकी छिन्। एउटा परिवार छ, जसले आफ्ना सदस्यको प्रतीक्षा गरिरहेको छ।

र त्यहाँ नीमा छिन्।

त्यो सानी बालिका, जसले जीवनको प्रारम्भिक चरणमै आफ्नी आमालाई गुमाइन्। कानुनी प्रक्रियाले दोषी र निर्दोषको प्रश्नको उत्तर दिन सक्छ। तर यसले गुमेको समय फर्काउन सक्दैन। हराएको सम्बन्ध फर्काउन सक्दैन। र एउटा बच्चीलाई आमाको काख फिर्ता दिन सक्दैन।

कालरेखा: ममता काफ्ले भट्ट मुद्दा

मिति (वि.सं.)घटना
२०७७ मंसिरममता काफ्ले र नरेश भट्टको पनौतीमा विवाह
२०८० साउन २०छोरी नीमाको जन्म
२०८० भदौनरेश भट्टले म्यानास्सास पार्कमा घर खरिद गरे
२०८० फाल्गुनघरेलु विवादपछि प्रहरी बोलाइयो
२०८१ साउन १४ममता काफ्ले भट्टलाई अन्तिमपटक देखियो
२०८१ साउन १७नरेशले Walmart बाट तीनवटा चक्कु खरिद गरे
२०८१ साउन १८नरेशले सफाइ सामग्री खरिद गरे; ममता कार्यस्थलमा उपस्थित भइनन्
२०८१ भदौ ३प्रहरी वेलफेयर चेकका लागि घर पुग्यो; नरेशले ममता परिवार भेट्न गएको दाबी गरे
२०८१ भदौ ५नरेश भट्टले स्वयं ममतालाई हराएकी व्यक्तिका रूपमा रिपोर्ट गरे
२०८१ भदौ ८प्रहरीको विस्तृत खोजी; ममता मृत भइसकेको हुन सक्ने आशंका सार्वजनिक
२०८१ भदौ ९नरेश भट्ट पक्राउ; शव लुकाएको आरोप लगाइयो
२०८१ मंसिर २नरेशमाथि हत्या तथा शव अंगभंगसम्बन्धी थप आरोप दर्ता
२०८२ असारअदालतले मुद्दा सेप्टेम्बर २०२५ बाट अक्टोबर २०२६ मा सार्ने निर्णय गर्‍यो
२०८३ जेठविद्युतीय आरा (Power Saw) बाट मानवीय कपाल फेला परेको नयाँ फरेन्सिक प्रमाण सार्वजनिक
२०८३ असोज १९ (अक्टोबर ५, २०२६)मुद्दाको मुख्य सुनुवाइ सुरु हुने तय; करिब सात हप्तासम्म चल्ने अपेक्षा

स्रोतहरू:

Share This Article
Follow:
Crafting stories that make you think, poems that make you feel, and tech articles that make the complex beautifully simple. The mind behind Sangriha.
Equal parts curious and relentless. Digging where others don't, uncovering the tech behind tomorrow and the mysteries hiding in plain sight.