अभागी घडीको कथा: जब घडीमा ८:१५ बज्छ, तब मुटु काप्न थाल्छ

Suraj
By
Suraj
Politics is people. Cutting through the noise with sharp research and sharper words, making sense of power for the ones it actually affects.

६ अगस्ट १९४५, एक यस्तो मिती जसले केवल हिरोशिमाको आकृति मात्रै बदलिएन, सम्पूर्ण मानव इतिहासलाई नै पुनः लेख्न बाध्य बनायो।
बिहानीको सुरुवात जापानको लागि सामान्य थियो—कामतिर हिँडिरहेका मानिस, स्कूलतर्फ दौडिरहेका बालबालिका, बिहानको तातो चिया पिउँदै गरेका वृद्धहरू। कसैलाई पनि अनुमान थिएन—केही मिनेटमै त्यो आकाश सूर्यभन्दा पनि उज्यालो हुनेछ। त्यो उज्यालो—सुरक्षा होइन, सर्वनाशको संकेत हुनेछ।

‘लिटिल ब्वाई’—नाम सानो, विस्फोट इतिहासकै विशाल

एनोलागे नामक अमेरिकी बमवर्षक विमानले बोकेको थियो—”Little Boy”।
तर, त्यो कुनै सामान्य बम थिएन।
४,४०० किलोग्राम तौल, युरेनियम-२३५ मा आधारित गन-टाइप डिजाइन, र विस्फोटको क्षमताः १५ किलोटन TNT बराबर

बिहान ८:१५ बजे, बम १,९०० फिटको उचाइमा हावामै विस्फोट भयो।
त्यस क्षण—हिरोशिमाको आकाशमा हजारौं सूर्यहरूको उज्यालो फैलिएको थियो।
तर त्यो प्रकाश जीवनको उत्सव होइन, मृत्युको छायाँ थियो।

सहरको तापमान एकैचोटि चार हजार डिग्री सेल्सियसभन्दा माथि पुग्यो।
मानिसको शरीर केही सेकेन्डमै वाष्प बनेर हरायो।
भित्ताहरूमा मात्र बाँकी रह्यो—मानव छायाँको स्थायी दाग

Ad imageAd image

समयले पनि सास फेर्न छाड्यो

बम विस्फोटपछि हिरोशिमाको सयौं घडीहरू स्थिर भए—ठ्याक्कै ८:१५ मा।
यी घडीहरू आज पनि संग्रहालयमा राखिएका छन्, जसले भन्न खोजिरहेका छन्—त्यो क्षण समयले आत्मसमर्पण गर्‍यो।

त्यही दिन एक मानव चेतनाले यति ठूलो मूल्य चुकायो, जसको अन्त्य आजसम्म देखिँदैछ—क्यान्सर, विकलाङ्गता, पीडादायी सम्झनाहरू…

‘हामीले के गरेका छौं?’ — एक पाइलटको पश्चाताप

एनोलागे विमानका सह-पाइलट क्याप्टेन रोबर्ट ए. लुइसले आफ्नो लगबुकमा लेखेका थिए:

हे भगवान! हामीले के गरेका छौं?
म यदि १०० वर्ष बाँच्छु भने पनि ती केही मिनेटहरू मेरो दिमागबाट कहिल्यै मेट्न सक्दिन।”

त्यही लगबुक—कागज र पेनले लेखिएको त्यो अन्तर्मनको कम्पन—केही दशकपछि लिलामीमा झन्डै ४ करोड रुपैयाँमा बिक्री भयो।
के त्यो केवल कागज थियो? कि एक सभ्यताको मौन विलाप?

नागासाकी—अर्को अध्याय, उस्तै कथा

६ अगस्टको तीन दिनपछि—९ अगस्ट १९४५
अमेरिकाले फेरि अर्को बम खसाल्यो—नागासाकीमा
यसपटक प्रयोग गरियो प्लुटोनियम बम ‘फ्याट म्यान’, जसले ८०,००० भन्दा बढी मानिसहरूको ज्यान लियो।

अमेरिकाको उद्देश्य स्पष्ट थियो—जापानलाई आत्मसमर्पण गराउनु।
तर प्रश्न उठ्छ—के विज्ञानले आफ्नो उद्देश्य नाघेर नैतिकताको रेखा मेटाएको थिएन?

म्यानहट्टन प्रोजेक्ट—मानव विवेकको विफलता?

सन् १९४२ मा सुरू भएको म्यानहट्टन प्रोजेक्ट अमेरिकी इतिहासको सबैभन्दा गोप्य, सबैभन्दा खर्चालु र सबैभन्दा विध्वंसकारी वैज्ञानिक योजना थियो।
जब बम तयार भए, अमेरिका भित्रै विरोधका स्वर उठ्न थाले। तर निर्णय हो—“हामीले प्रयोग गर्नुपर्छ।”
त्यसपछि प्रयोग गरियो—लाखौं निर्दोष जीवनहरूमा।

हिरोशिमा—अब केवल एक सहर होइन

आज हिरोशिमा शान्त छ।
तर त्यहाँको संग्रहालय, त्यहाँका बाँकी घडीहरू, त्यहाँका बाँकी मानव छायाहरूले सधैं सम्झाइरहन्छ—
यो हामीले गरेका छौं। हामी, मान्छेहरूले।
हिरोशिमा आज पनि एक चेतावनी हो—कि विज्ञान जब नैतिकता बिना प्रयोग हुन्छ, त्यसको परिणाम सभ्यताको विघटन हुन सक्छ।


अन्तिम प्रश्न

के कुनै युद्ध यति ठूलो मूल्यमा जित्न मिल्छ जहाँ समयले पनि आत्मसमर्पण गर्नुपर्छ?

Politics is people. Cutting through the noise with sharp research and sharper words, making sense of power for the ones it actually affects.