नेपाली धावकको कथा विश्वसामु: ‘द रोड बिट्विन अस’ वाइल्ड साउन्ड फेस्टिभलमा आधिकारिक छनोट

Bikal
By
Bikal
A passionate storyteller, digital creator, and researcher dedicated to uncovering fascinating stories, mysteries, history, science, technology, and contemporary issues. As the driving force behind Sangriha, he...

तस्मानिया, अष्ट्रेलिया । चिया गफ रन क्लबको प्रस्तुति तथा ह्वाईट ब्यालेन्स प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको फिचर डकुमेन्ट्री द रोड बिट्विन अस अमेरिकाको लस एन्जलसमा आयोजना हुने प्रतिष्ठित वाईल्ड साउन्ड डकुमेन्ट्री फिड्ब्याक फिल्म फेस्टिभलमा आधिकारिक रूपमा छनोट भएको छ। उक्त डकुमेन्ट्री वेस्ट फिचर फिल्म विधामा छनोट भएको हो ।

वाईल्ड साउन्ड डकुमेन्ट्री फिड्ब्याक फिल्म फेस्टिभल स्वतन्त्र तथा अन्तर्राष्ट्रिय फिल्मकर्मीहरूलाई विश्वव्यापी दर्शकमाझ पु¥याउने प्रतिष्ठित प्लेटफर्मका रूपमा परिचित छ। विशेषगरी डकुमेन्ट्री तथा स्वतन्त्र सिनेमालाई प्रोत्साहन गर्दै आएको यस महोत्सवले विश्वभरका उदाउँदा तथा स्थापित फिल्मकर्मीहरूलाई आफ्नो सिर्जना अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ। फिल्म प्रदर्शनपछि दर्शक प्रतिक्रिया, उद्योग सम्बन्ध विस्तार तथा अन्य अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूसँग नेटवर्क निर्माण गर्ने अवसरसमेत यस फेस्टिभलमार्फत उपलब्ध गराइन्छ।

डकुमेन्ट्री आगामी मे ३१ तारिख न्यूयोर्क समयअनुसार साँझ ८ बजे फेस्टिभलको अन्तर्राष्ट्रिय भर्चुअल प्लेटफर्ममार्फत प्रदर्शन गरिनेछ। प्रदर्शनपछि फिल्मलाई विशेष ४८ घण्टे निजी प्रदर्शन समेत प्रदान गरिनेछ । जसमार्फत अन्तर्राष्ट्रिय फिल्मकर्मी, फेस्टिभल प्रोग्रामर तथा वितरकहरूलाई फिल्म अवलोकन गर्ने अवसर उपलब्ध हुनेछ।

तस्मानियामा निर्माण भएको नेपाली समुदायको विसयमा बनाईएको यस डकुमेन्ट्री महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ। डकुमेन्ट्रीले होबार्टदेखि लन्चेस्टनसम्मको करिब २ सय किलोमिटर लामो कठिन दौडमा सहभागी १५ नेपाली मुलका धावकहरूको वास्तविक कथा प्रस्तुत गर्दछ।

Ad imageAd image

द रोड बिट्विन अस केवल दौडको कथा मात्र होइन, यो मानवीय सम्बन्ध, संघर्ष, सहकार्य, मित्रता र सामूहिक यात्राको भावनात्मक दस्तावेज पनि हो। फरक पृष्ठभूमिबाट आएका मानिसहरू साझा उद्देश्यका लागि कसरी एकसाथ अघि बढ्नसक्छन भन्ने विषयलाई फिल्मले संवेदनशील र सिनेम्याटिक शैलीमा प्रस्तुत गरेको छ।

फिल्मका प्रोजेक्ट म्यानेजर अनिस अधिकारीका अनुसार, “यो परियोजनाको मूल भावना समुदाय, विश्वास र मानवीय सम्भावनासँग जोडिएको छ। कठिन परिस्थितिमा एकअर्काको साथ र सहयोगले मानिसलाई आफ्नो क्षमताभन्दा माथी उठ्न प्रेरित गर्नसक्छ भन्ने विश्वासबाट यो यात्रा सुरु भएको हो।”

डकुमेन्ट्रीका निर्देशक तथा छायांकन निर्देशक मनिस प्रसाई हुन्। नेपाली मुलका प्रसाई हाल स्वतन्त्र फिल्मकर्मीका रुपमा अष्ट्रेलियाको तस्मानिया बस्दै आइरहेका छन्। पत्रकारिता, टेलिभिजन, फिल्म तथा डकुमेन्ट्री निर्माण क्षेत्रमा उनले १५ वर्षभन्दा बढी अनुभव हासिल गरेका छन्। द रोड बिट्विन अस’ अष्ट्रेलियामा उनले स्वतन्त्र रूपमा निर्देशन तथा निर्माण गरेको पहिलो फिचर डकुमेन्ट्री हो।

फिल्मबारे प्रसाई भन्छन् “यो केवल एउटा दौडलाई कैद गर्ने प्रयास मात्र थिएन। यो सहयात्रा तथा मानिसबीचको सम्बन्ध, विश्वास र आत्मीयताको कथा हो। २ सय किलोमिटरको यात्राका क्रममा मैले देखेको संघर्ष, थकान, हाँसो र पिडाका क्षणहरूले मानवीय अनुभूतिहरुलाई प्रस्तूत गरेका छ।”

निर्माण प्रक्रियाबारे उनले थपे, “तस्मानियाका हाइवे र दुर्गम सडकहरूमा सीमित उपकरणसहित एकैसाथ निर्देशन र छायांकन गर्नु चुनौतीपूर्ण थियो। तर ती सीमितताले नै फिल्मलाई अझ वास्तविक, आत्मीय र जीवन्त बनायो।”

प्रसाईका अनुसार, “यस यात्रामा सहभागी युवा नेपालीहरूको अनुशासन र एकअर्काप्रतिको विश्वास अत्यन्त प्रेरणादायी थियो। अहिलेको व्यस्त समयमा मानिसहरू आफ्नै सपना र समयबाट टाढिँदै गइरहेका बेला, उनीहरूको सामूहिक ऊर्जा र उद्देश्यले फरक उदाहरण प्रस्तुत गरेको छ।”

डकुमेन्ट्रीको आधिकारिक ट्रेलर मुना आर्ट सेन्टरमा एक विशेष कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको थियो, जहाँ फिल्मकर्मी, व्यवसायी, सामुदायिक अगुवा तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। डकुमेन्ट्रीले तास्मानियामा जम्मा दुई विशेष प्रदर्शन गरेको थियो । प्रिमियर सोमा दर्शकको उत्साहजनक सहभागिता तथा सकारात्मक प्रतिक्रिया पश्चात दोस्रो सोसम्म सफलताका साथ सम्पन्न गरेको प्रसाईले जानकारी दिनुभयो ।

Obsessed with the forgotten and the unexplained. Diving deep into history's hidden corners and mysteries that textbooks never dared to cover.